बैशाख ८ गते २०८०, काठ्माडौं ।
ललितपुरको लगनखेलस्थित मानसिक अस्पतालमा पनि अब बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्य उपचार हुने भएको छ । अस्पताल र सिविन नेपालको सम्झौता पछि लगनखेलस्थित मानसिक अस्पतालमा पनि बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थोपचार सम्भव हुने भएको हो । अस्पतालमा बहिरंग सेवा सँगसँगै १० शैय्याको अन्तरंग सेवा पनि संचालनमा आउन लागेको हो । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवस्तरीय बैठकको निर्णय अनुसार सिविन नेपालको अस्पतालसँग सम्झौता भएको हो । सम्झौतामा अस्पतालका तर्फबाट निर्देशक डा अनन्त प्रसाद अधिकारी र सिविन नेपालका तर्फबाट सुम्निमा तुलाधरले हस्ताक्षर गर्नुभएको हो । कार्यक्रममा अस्पताल विकास समितिका अध्यक्ष मधुकर तुलाधर र अस्पतालका सिनियर कन्सल्टेन्ट डा बासुदेव कार्कीसँगै सिविन नेपालका अध्यक्ष माधव प्रधान, सिविनका कोषाध्यक्ष सुवोधचन्द्र श्रेष्ठ, प्रवक्ता कुमार भट्टराईलगायतको उपस्थिति रहेको थियो । अस्पतालले, यसअघि वयस्ककालागि मात्रै मानसिक स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको थियो ।