कार्तिक २० गते, काठ्माडौं ।
नर्वेका अन्तराष्टिय विकास मन्त्री डाग-इन्गे उल्स्टाइनले कान्ति बाल अस्पताल परिसरमा निर्माणाधिन बाल मानसिक स्वास्थ्य विभाग भवनको अवलोकन गर्नुभएको छ । सिविन नेपालको पहलमा फोरुट नर्वे, नर्वेली मानसिक स्वास्थ्य संघ (Norwegian Psychiatric Association) र Touch Ireland को सहयोगमा कान्ति बाल अस्पतालमा बाल मानसिक स्वास्थ्य विभागको छुट्टै भवन निर्माण भइरहेको हो ।
यसैक्रममा बाल मानसिक रोग विशेषज्ञ डा अरुण कुँवरले नेपालमा बालबालिकाको मानसिक स्वास्थ्य क्षेत्रमा अझै पर्याप्त काम नभएको विचार राख्नु भयो । सँगै अहिले मुलुकभरका विद्यालयमा अध्ययन गरिरहेका करिब ४ हजार बालबालिकाको मानसिक स्वास्थ्यसम्बन्धि अध्ययन भइरहेको समेत जानकारी दिनुभयो । डा कुँवरका अनुसार बालबालिकाको मानसिक स्वास्थ्य सम्बन्धि विस्तृत अध्ययन भएको यो पहिलो पटक हो ।
नर्वेका मन्त्री उल्स्टाइनले, नेपालमा बालबालिकाको मानसिक स्वास्थ्यको क्षेत्रमा सिमित श्रोत र खर्चमा भइरहेका काम निक्कै सह्राहनिय भएको विचार ब्यक्त गर्नुभयो । सँगै फोरुट नर्वेको माध्यमबाट नर्वेले नेपालमा बाल मानसिक स्वास्थ्य क्षेत्रमा केही योगदान दिनसकेकोमा सन्तोष पनि ब्यक्त गर्नुभयो ।
भ्रमणका क्रममा नर्वेली अन्तराष्टिय विकास मन्त्रीले अहिले संचालनमा रहेको बाल तथा किशोरकिशोरी मानसिक स्वास्थ्य सम्बन्धि बहिरंग सेवाको समेत निरिक्षण गर्नुभयो । २०७२ सालको ठूलो भुइचालोपछि बालबालिका र किशोरकिशोरीमा परेको मानसिक आघात र समस्याको सम्बोधन गर्नकालागि सिविन नेपालको पहलमा नेपालमै सबैभन्दा पहिलो बाल तथा किशोरकिशोरी मानसिक स्वास्थ्यसम्बन्धि बहिरंग सेवा संचालनमा ल्याइएको हो ।
मन्त्री उल्स्टेन पोषण सम्बन्धि अन्तराष्टिय सम्मेलनमा सहभागी हुन तीन दिने नेपाल भ्रमणमा आउनु भएको हो ।