सन्दर्भः राष्ट्रिय बाल दिवस २०७७
‘विपद्मा बालअधिकारको सुनिश्चितताः हामी सबैको साझा प्रतिवद्धता” भन्ने मूल नाराका साथ मनाइ रहेको राष्ट्रिय बालदिवस २०७७ को अवसरमा सर्वप्रथम हामी नेपाली बालबालिकाको सुस्वास्थ्य, खुशी एवम् सुन्दर वर्तमान र भविष्यको निम्ति शुभकामना व्यक्त गर्दछौं । कोभिड १९ बाट सिर्जित विषम परिस्थिति र लकडाउनको परिवेशका कारण हामी यसवर्षको बालदिवस फरक शैली र विधिबाट मनाइरहेका छौं ।
सिविन नेपालद्वारा सञ्चालित बालिका शान्ति गृह तथा बाल गृहमा रहेका बालबालिकाहरू आ–आफ्नो गृहहरूमा विभिन्न कार्यक्रमको आयोजना गरी बालदिवस मनाइ रहेका छन् भने सिविन नेपालद्वारा देशका विभिन्न भागहरूमा सञ्चालित बाल हेल्पलाइन १०९८ मा रहेका बालबालिकाहरूकाबीच पनि विभिन्न कार्यक्रमको आयोजना गरिनेछ । सिविन नेपालको संरक्षणमा रहेका बालबालिकाले विभिन्न संघसंस्था तथा सञ्जालहरूद्वारा आयोजित प्रतियोगिताहरूमा पनि सहभागिता जनाउनेछन् । यसैगरी भाद्र ३१ गते बुधबार सिविन–नेपालको प्राविधिक सहयोग तथा समग्र राष्ट्रिय किशोरी सञ्जालको आयोजनामा सबै प्रदेशका बाल प्रतिनिधिहरूबीच कोभिड १९ र यसले बालबालिकामाथि पारेको प्रभावका बारेमा भर्चुअल बाल परिसंवाद कार्यक्रम सम्पन्न गरिनेछ ।
वास्तवमा कोभिड १९ ले हामी सबैका लागि विपद्को रूप लिएको छ । संक्रमितहरूको संख्या दिनानुदिन बढी रहेको छ र यसले समाजमा त्रास फैलाइरहेको छ । बालबालिकाहरू घर घरमा लकडाउनमा परेका छन् । विद्यालय कहिले खुल्छ कुनै ठेगान छैन । यस लकडाउनबाट बालबालिकाले घर परिवारसँग समय विताउने मौका पाएका छन् र थुप्रै जीवनोपयोगी सीपहरू सिक्ने मौका पनि पाएका छन् । पछिल्लो समयमा बालबालिकाहरू रेडियो, टेलिभिजन तथा अनलाइन जस्ता वैकल्पिक विधिबाट आफ्नो पढाइलाई अगाडि बढाइ पनि रहेका छन् । तर सबै बालबालिकाले यसरी पढ्ने र सिक्ने अवसर पाएका छैनन् । बरु कतिपय बालबालिका त परिवारमा आर्थिक समस्याका कारण समस्यामा परेका छन् । कतिपय बालबालिका घरभित्रै समेत असुरक्षित भएका घटनाहरू प्रकाशमा आएका छन् । कतिपय बालिकाहरू बलात्कृत भएका, बालबालिका बालविवाहमा परेका, हेला र दुर्व्यवहारमा परेको पाइएकोछ । यसैगरी इन्टरनेट अनलाइनमा बालबालिकाको बढ्दो पहुँचसँगै उनीहरू अनलाइन दुर्व्यवहारमा परिरहेको र अनलाइन जोखिम बढी रहेको पाइएको छ । यसरी लकडाउनमा बालबालिकाको संरक्षणको सवाल ज्वलन्त समस्याका रूपमा देखा परेको छ । यसरी बालबालिकामा जोखिमता बढ्नु हामी सबैकालागि चिन्ताको विषय हो ।
विपद्का बेला बालबालिकाको संरक्षण परिवार, समुदाय तथा हामी सबै सरोकारवालाहरूको जिम्मेवारीको विषय हो । यसमा पनि संघीय, प्रादेशिक तथा स्थानीय सरकारको भूमिका ज्यादै महत्वपूर्ण रहेको छ । विपद्को यस परिस्थितिमा बालबालिकाको हित तथा संरक्षणको लागि राज्यको तर्फबाट देशका सम्पूर्ण बालबालिकाको अधिकार प्रत्याभूतिका निम्ति हरसम्भव प्रयास गर्न आह्वान गर्दछौं ।
धन्यवाद ।
कुमार भट्टराई
प्रवक्ता
सिविन नेपाल