काठमाडौ भगवतीबारी स्थित शान्ति निकुञ्ज माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत किशोरी संगिता पुलामी मगर, सीमा वस्नेत र हेमु मगरमाथि २०७१ साल फागुन १० गते वसन्तपुरमा भएको एसिड आक्रमणको सिविन—नेपाल घोर भत्सर्ना गर्दछौं ।
राजधानीको केन्द्रमा घटेको यसप्रकारको निन्दनीय घटनाले हाम्रो देशका किशोरीहरुको संरक्षणको सवाल हाम्रा सामु जटिल समस्याका रुपमा देखा परेकोछ । नेपाल सरकारले किशोरीहरुको संरक्षणलाई प्राथमिकतामा राखी किशोरकिशोरीको समग्र विकासका लागि पाँचवर्षे कार्ययोजना तयार गरी लागू गरिरहेको अवस्थामा यस्ता घटना दोहोरिनु गम्भीर चिन्ताको विषय हो । राज्य तथा सरोकार पक्षले गरेको बालमैत्री शहरको परिकल्पनालाई समेत यस्ता घटनाहरुबाट चुनौती थपिएको महशुस भएको छ ।
गम्भीर रुपमा घाइते हुनु भएकी संगिता लगायत उहाँका साथीहरु सीमा र हेमुको सीघ्र स्वास्थ्य लाभको कामना गर्दै पीडित किशोरीहरुको निःशुल्क उपचारको व्यवस्था मिलाउन, यथासीघ्र सत्यतथ्य पत्ता लगाइ दोषी माथि कार्वाही गर्न र शारीरिक रुपमा तन्दुस्त भए पनि किशोरीहरुमा मनोवैज्ञानिक त्रास बाँकी रहने हुँदा भावी दिनमा उनीहरुलाई मनोसामाजिक परामर्श सहित स्तरीय शिक्षाको व्यवस्था मिलाउनका लागि नेपाल सरकारसमक्ष जोडदार माग गर्दछौं ।
यस क्रममा करिव एक वर्ष अगाडि घटेको यस्तै प्रकृतिको घटनामा सम्मानित सर्वोच्च अदालतले सरकारलाई छुट्टै प्रकारको लैङ्गिक हिंसा विरुद्धको कानुन ल्याउने आदेश दिएको तर सरकारले हालसम्म कुनै पनि कार्वाही अगाडि नबढाएको स्मरण गराउँदै नेपाल सरकार समक्ष लैङ्गिक हिंसा विरुद्धको कानुन निर्माण तथा कार्यान्वयनमा तदरुकता देखाउन हार्दिक अपिल गर्दछौं ।
कुमार भट्टराई
प्रवक्ता
सिविन—नेपाल