कात्तिक २१ गते २०७९, काठ्माडौं ।
नेपालमा मदिरा सम्बन्धि समस्याको सम्बोधनकालागि सेफर योजना सार्वजनिक गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, विश्व स्वास्थ्य संगठन र अन्तराष्ट्रिय तथा नागरिक समाजका साझेदार संस्थाहरुले नेपालमा मदिराजन्य क्षति न्यूनिकरणका लागि महत्वाकांक्षी मार्गचित्र सार्वजनिक गरेको हो । यस मार्गचित्रले नेपालमा मदिराले गर्ने क्षति रोकन र कम गर्न प्रभावकारी र प्रमाणित पहलहरु सहितको सेफर प्याकेज कार्यान्वयन गर्न नेपाल सरकारलाई दिशानिर्देश गर्नेछ । यसमा मदिराको उपलब्धता कम गर्ने, मदिरा सेवन गरी सवारी साधन चलाउने काम पूर्ण रुपमा रोक्ने, मदिराका कारण हुने रोगको पहिचान र उपचारमा सर्वसाधारणको पहुँच बढाउने, मदिराजन्य बस्तुको विज्ञापन र प्रायोजनमा प्रतिवन्ध लगाउने, र मदिरामा अधिकतम कर लगाउने जस्ता कदम समावेश गरिएका छन् । सँगै मदिरा किनवेचमा समय तोकेर मात्र गर्न पाउने, विज्ञापन र प्रचारप्रसारमा नियमन र नियन्त्रण गर्ने.जस्ता विषयहरु पनि मार्गचित्रमा समेटिएको छ । नेपाल, सेफर पहल कार्यान्वयन गर्न छानिएका दुई देशमध्ये एक हो । मार्गचित्रले आगामी दुई बर्षका लागि उद्देश्य तथा कार्यक्रमहरु समेटेको छ ।