२०७७ असोज १३

बालबालिका विशेषगरी बालिकाहरू विरुद्धका बर्बर र क्रुर अपराधका घटनाहरू बढ्दै गएको कुराले हामीलाई चिन्तित र आक्रोशित बनाएको छ । यस प्रकारका पासविक घटनाको पछिल्ला उदाहरण मिति २०७७ असोज ८ गते बझाङ्ग जिल्ला, मष्टा गाउँपालिका २ की १२ वर्षिया बालिका र असोज ९ गते सुनसरी जिल्ला बराहक्षेत्र नगरपालिका १ की १२ वर्षिया बालिका माथि भएको पासविक बलात्कार र त्यसपछि गरिएको निर्मम हत्या भएका छन् । केही वर्षअघि बलात्कार पछि हत्या गरिएकी निर्मला पन्त लगायतका अन्य हाम्रा होनहार छोरीहरूका लागि र समग्र छोरीहरूका लागि न्याय दिलाउन संघर्ष भैरहेको अवस्थामा निर्मला कै नियती अरु छोरीहरूमाथि पनि दोहरिनु साँच्चिकै पीडादायी र अक्षम्य घटनाहरू बन्न पुगेका छन् । हामी ती घटनाहरू प्रति क्षोभ प्रकट गर्दै अमानवीय तरिकाबाट हत्या गरिनु भएका बालिकाहरू प्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दछौं र शोक सन्तप्त परिवारजनहरू प्रति गहिरो समवेदना व्यक्त गर्दछौ ।

यस अघि बालिकामाथि भएका बलात्कारका कतिपय जघण्य अपराधहरूमा पीडक पक्षको पहुँच र प्रभाव वा अन्य कारणबाट उपयुक्त ढंगबाट कानूनी अनुसन्धान तथा तहकिकात हुन नसकेको र दोषीलाई कारवाही नभएको दण्डहीनताको अवस्थाले अपराधिक मनस्थिति भएका मानिसहरूको मनोबल बढिरहेको देखिएको छ । तसर्थ यी घटनाहरूको अनुसन्धान तथा कानूनी कारवाहीमा कुनै कमी हुन नदिइ दोषीहरूलाई कडा कानूनी कारवाहीको निम्ति जोडदार माग गर्दछौं । यसैगरी अनुसन्धान तथा कारवाही गर्ने निकायहरूमा रहेका कमजोरीहरूको समीक्षा गर्दै वैज्ञानिक अनुसन्धान प्रकृयाको विकास गर्न, बाल हेल्पलाइन १०९८ लगायतका बालबालिकाको निम्ति सेवा प्रदान गर्ने संरचनाको सशक्तीकरण गर्न र पीडित मैत्री न्याय सम्पादन एवं फास्ट ट्््रयाक प्रकृयाबाट न्याय निरुपण गर्ने प्रणालीको कार्यान्वयनको निम्ति तत्काल कार्य गर्न समेत हामी सम्बन्धित सबैको ध्यानाकर्षण गराउँछौं ।

समाजमा बालिकाहरू विरुद्धका यसप्रकारका जघण्य अपराधहरू बढ्दै जाँदा उनीहरूमा त्रास बढेको छ र उनीहरूको निर्भयताकासाथ बाच्न पाउने अधिकारको हनन् भएको छ । यस परिस्थितिसँग जुझ्नका लागि उनीहरूको सशक्तीकरण, पारिवारिक सक्षमता एवं सचेतना अभिवृद्धि जस्ता काममा लाग्नका लागि सरकार, नागरिक समाजका संघसंस्था, समुदायमा आधारित आमा समूह जस्ता संघसंस्था एवम् बालबालिका तथा किशोर किशोरीहरूका संघसंगठनहरूलाई अपिल गर्दछौं ।

कुमार भट्टराई
प्रवक्ता