प्रेस विज्ञप्ति

२८ फागुन २०६८, काठमाण्डौं ।

विभिन्न शिक्षक संघसंगठनद्वारा आजदेखि गरिने भनिएको  शैक्षिक आमहडतालले ७८लाख बालबालिकाको शैक्षिक अधिकार कुण्ठित हुन पुगेकोछ । वयस्कका स्वार्थपूर्तिका लागि बालबालिकाको भविष्यलाई प्रभावित पार्ने गरी कुनै पनि बहानामा हुने यसप्रकारका गतिविधिलाई बालअधिकारको दृष्टिबाट कदापी स्वीकार्य मान्न सकिदैन । बालअधिकारका लागि क्रियाशिल संस्था सिविन नेपाल शिक्षकहरुलाई तत्काल यस शैक्षिक आमहडताल फिर्ता लिन र सरकारलाई गम्भिरतापूर्वक समस्या समाधानको उपाय निकाल्न अनुरोध गर्दछ ।

जायजमाग राख्नु र विद्रोह गर्न पाउनु मानवअधिकारको एक मान्यता हो तर आफ्ना माग पुरा गराउने नाममा समाजका संवेदनशिल समुह–बालबालिकालाई प्रभावित परिनु बालबालिकाका विशेष मानवअधिकारको ठाडो उल्लंघन हो । शिक्षकका मागका सम्बन्धमा सरकारसंग भएका पटक पटकका वार्ताहरु असफल हुनु र शिक्षकले नै शैक्षिक आमहडतालको आह्वान गर्नु जस्ता दुबै कुरा सिगैं देशका निम्ति अत्यन्त लज्जास्पद विषय हो । शिक्षकका जायज मागहरुको उचित ढंगले सम्बोधन हुनु पर्दछ तर कुनै पनि बहानामा बालबालिकाको शिक्षालाई भने प्रभावित पारिनु हुदैंन । यस शैक्षिक आमहडताले शिक्षक र सिंगो नेपाली शैक्षिक व्यवस्था प्रति नै आमरुपमा नकारात्मक धारणा विकास हुने देखिएको छ भने सरकारको समयमा नै समस्या सम्बोधन गर्ने गम्भिरता नदेखिंदा सरकारी नालायकीपनालाई दर्शाएको छ । यस शैक्षिक बन्दले राज्यले घोषणा गरेको विद्यालय शान्ति क्षेत्रको ठाडो उल्लंघन हुन पुगेको छ भने शिक्षकहरु स्वयमले गरेको प्रतिवद्धताको पनि उपहास भएकोछ । विद्यार्थीहरुको महत्वपूर्ण परिक्षा चलिरहेको अवश्थामा परिक्षालाई नै प्रभावित पार्ने गरी गरिएको बन्द तथा निकट भविष्यमा हुने एसएलसी परिक्षालाई समेत प्रभावित गर्ने गरी शिक्षकका नेताहरुद्वारा सार्वजनिक गरिएको अभिव्यक्तिहरुलाई कुनै पनि अभिभावक र बालबालिकाले सहजरुपमा लिन सक्दैनन् र यसले शिक्षकको गरिमालाई नै तल झारेकोछ ।

अतः हामी शिक्षकहरुलाई तत्काल यस शैक्षिक आमहडताल फिर्ता लिन आह्वान गर्दर्छौ भने सरकाकारलाई गम्भिरतापूर्वक शिक्षकहरुका मागको सुनुवाई गरी निकास निकाल्न आह्वान गर्दछौं । विगतका वार्ताहरुबाट ठोस परिणाम ननिस्किएको सन्दर्भमा अब हुने वार्तामा शिक्षा तथा बालबालिकासंग प्रत्यक्ष सरोकार राख्ने अधिकारकर्मी, नागरिक समाजलगायतलाई आवस्यकतानुसार सम्लग्न गराई सबैलाई मान्य हुने निष्कर्ष निकाल्ने तर्फ अग्रसरहुन सबैलाई हार्दिक अनुरोध गर्दछौं ।

 माधव प्रधान

अध्यक्ष