२१ बैशाख २०६७

गत मे १ देखि एनेकपा माओबादीद्वारा आयोजित जनप्रदर्शन तथा राजनीतिक आमहड्तालका क्रममा काठमाडौं लगायत देशका विभिन्न भागमा भएका जुलुसहरुमा बालबालिकाको समेत संलग्नता रहेको स्पष्ट देखिन आएकोछ । राजनीतिक स्वार्थका निमित्त गरिने विरोध हड्ताल जुलुस जस्ता गतिविधिहरुमा बालबालिकाको प्रयोग हुनुलाई बालअधिकार सम्मत मान्न सकिन्न । हाल साचालित विरोध जुलुस आजसम्म तुलनात्मक रुपमा अनुशासित र शान्तिपूर्ण रहनुलाई सकारात्मक मान्न  सकिन्छ । तथापि विहान सबेरै देखि साँझ अबेरसम्म बालबालिकाहरु सडकमा आन्दोलनका विविध गतिविधिहरुमा संलग्न हुनु पर्ने वाध्यता बालबालिकाको विकास तथा संरक्षणका दृष्टिले उपयुक्त हुन सक्तैन । 

आजसम्मको आन्दोलनका क्रममा पोखरामा एक बालक घाइते भएको र काठमाडौंमा आन्दोलनका लागि ल्याइएका केही बालबालिका÷किशोरकिशोरीहरु विरामी पर्न थालेको पाइएकोछ । यसैगरी बालबालिकाहरु सडकमा खेल्ने क्रम बढेको र उनीहरु दुर्घटनामा परेका घटनाहरु पनि प्रकाशमा आइरहेका छन् । लामोसमय देखि विद्यालय जान नपाएकाले बालबालिकाहरु पढ्न पनि नपाएको र समय विताउन पनि कठिन भएकोमा चिन्तित बन्न थालेका छन् । काठमाडौं भन्दा बाहिरका अन्य स्थानहरुमा पनि जुलुसमा बालबालिकाहरुको उपस्थिति रहेको देखिएकोछ ।

यसरी बालबालिकालाई कुनै पनि बाहनामा आमहड्ताल लगायतका राजनीतिक गतिविधिहरुमा प्रयोग नगर्न तथा यस क्रममा हुन सक्ने घटनाक्रमबाट बालबालिका÷किशोरकिशोरीहरुलाई संरक्षण गर्न ठूलो राजनीतिक दलका रुपमा स्थापित एनेकपा माओबादी विशेषतः नेतृत्व वर्गलाई हार्दिक आह्वान  गर्दछौं । साथै आन्दोलनका निम्ति विभिन्न जिल्लाबाट राजधानी ल्याइएका बालबालिका÷किशोरकिशोरीहरुको उचित संरक्षणमा ध्यान दिँदै यथासिघ्र उनीहरुलाई आफ्नो घरपरिवारमा फिर्ता पठाउन समेत अनुरोध गर्दछौं ।

यस अतिरिक्त शान्ति सुव्यवस्थाका नाममा हुने कुनै पनि गतिविधिमा बालबालिकाको संरक्षणलाई पहिलो प्राथमिकता दिन सुरक्षा निकायको पनि ध्यान आकृष्ट गराउँदछौं ।

अनिश्चित्कालिन आमहड्तालबाट आम जनसमुदाय र अझ विशेषतः समाजका संवेदनशील समूहका रुपमा रहेका बालबालिकाका आधारभूत अधिकारहरु खाद्य आपूर्ति स्वास्थ्य सेवा शिक्षा उल्लघंन भैरहेका छन् । देशको शान्ति प्रकि्रयालाई सार्थक बनाउन सबैका मानवअधिकारलाई सम्मान गर्दै एनेकपा माओबादी लगायत देशका सबै राजनीतिक दलहरु तथा सरकारलाई आ-आफ्ना हठलाई त्यागी वार्ताद्वारा समस्याको निकास यथासिघ्र निकाल्न तथा आमहड्ताल तत्काल अन्त्य गर्न समेत जोडदार माग गर्दछौं । 

धन्यवाद ।

तारक धिताल 

प्रवक्ता सिविन-नेपाल ।