किर्तिपुर नगरपालिकालाई बालअधिकार सम्पन्न र बालसंरक्षण सुनिश्चित भएको नगरका रूपमा विकास गर्ने विषयमा नगरपालिका र सिविन नेपालबीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । मिति २०७६ मंसिर ५ गते कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनको समुपस्थितिमा सम्पन्न उक्त हस्ताक्षर समारोहमा नगरपालिकाका तर्फबाट उप–प्रमुख सरस्वती खड्का र सिविन–नेपालका तर्फबाट कार्यकारी निर्देशक सुम्निमा तुलाधरले ११ बुँदे सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको हो ।

हस्ताक्षर सम्पन्न भएपछि नगरपालिकाका प्रमुख रमेश महर्जनले बालअधिकारको क्षेत्रमा राष्ट्रिय र अन्तराष्ट्रिय रूपमा पहिचान बनाएको संस्थासँगको सहकार्यले नगरमा बालअधिकार स्थापनामा उल्लेख्य उपलब्धि हात लाग्ने विश्वास ब्यक्त गर्नुभयो ।

कार्यक्रममा उप–प्रमुख सरस्वती खड्काले किर्तिपुरमा जटिल अवस्थाको देखिएको गर्भपतन र लिंग पहिचान पछिको भ्रुण हत्यालाई मुख्य प्राथमिकतामा राखेर बालअधिकार अधिकार थाल्नु पर्ने बताउनुभयो ।

यसैगरी, सिविन–नेपालका कार्यकारी निर्देशक सुम्निमा तुलाधरले कीर्तिपुरका बालबालिकाको मानसिक र शारीरिक स्वास्थ्य लगायत बालसंरक्षण, बालविकास, बाल सहभागिता लगायतका विषयमा आफ्नो संस्थाले नगरपालिकासँग सहकार्य गर्ने बताउनुभयो । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धु्रवराज आचार्य तथा अधिकृत ज्ञानबज्र महर्जनले पनि आफ्नो धारणा राख्नु भएको थियो ।

कुमार भट्टराई
प्रवक्ता
सिविन–नेपाल