मितिः ११ जुन २०२१

सन्दर्भः बालश्रम विरुद्धको विश्व दिवस, १२ जुन २०२१

सिद्धान्ततः हाम्रा सबै बालबालिकाहरू हासीखुशी विद्यालयमा हुनुपर्दछ । कुनै पनि बालबालिका श्रम शोषणमा पर्नु हुँदैन । यदि बालबालिका श्रममा छन् भने त्यो हामी सबैका लागि लज्जाको विषय हो । तर वास्तविकतामा अझ पनि हाम्रो समाजमा बालश्रम कायम् रहेको छ ।

विश्वव्यापी रूपमा तथा नेपालमा पनि कायम् आर्थिक असमानता, विकास लगायत राज्य संरचनाका विविध पक्षहरूमा सीमान्तकृत वर्गको पहुँंचको अभाव, परिवारहरूमा बेरोजगारी, सार्वजनिक शिक्षामा लगानीको कमी, विद्यमान कानूनहरूको पालना नहुनु, सामाजिक सुरक्षामा पहुँंच नहुनु जस्ता कारणबाट नेपालमा अझै लाखौं बालबालिका श्रमशोषणमा छन् । कतिपय बालबालिका त अत्यन्तै अमानवीय तथा जोखिम परिस्थितिका श्रमशोषणमा परेका छन् । यसक्रममा सिविन नेपालद्वारा नेपाल सरकारको सहयोगमा सञ्चालित बालहेल्पलाइन नेपाल १०९८ ले हरेक वर्ष सैयौं बालबालिकाको उद्धार गरी श्रमशोषण गर्ने पीडकहरूलाई कानूनको दायरामा ल्याई बालबालिकालाई पारिवारिक पुनर्मिलन तथा शिक्षा प्रदान गर्नै आइरहेको छ ।

अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) र केन्द्रीय तथ्याङ्क विभागले संयुक्त रूपमा यहि वर्ष (२०२१) सार्वजनिक गरेको नेपालमा बालश्रमको अवस्था प्रतिवेदनलाई हेर्दा हाम्रो देशका ५ देखि १७ वर्ष उमेर समूहका ७० लाख बालबालिकाहरू मध्ये ११ लाख बालबालिका (१५.३ प्रतिशत) कुनै न कुनै प्रकारको श्रमका क्षेत्रमा संलग्न भएर आर्थिक गतिविधिमा लागि रहेका छन् । यसमध्ये २ लाख बालबालिका जोखिमपूर्ण श्रममा लाग्न वाध्य छन् । दुई दशक अगाडि नेपालमा बालश्रमिकको संख्या २६ लाख र २००८ मा १६ लाख रहेकोमा अहिले घटेर ११ लाखमा झरेको देखिनुले बालश्रम उल्लेख्य माात्रामा घट्दै गएको देखिएको छ । सिविन नेपाल जस्ता नागरिक समाजका संघसंस्थाहरूको निरन्तरको प्रयास, समाजमा बालश्रमका बारेमा आएको जागरण र सरकारले अगाडि सारेका नीति तथा कार्यक्रमबाट हामीले यो सफलता हासिल गर्दै गैरहेका हौं ।

यसैगरी दुइ दशक यताको विश्वव्यापी तथ्यांकलाई हेर्दा बालश्रम क्रमशः घटदै गएको देखिएता पनि पछिल्लो चार वर्ष यता ठूलो संख्यामा बालश्रमिक बढेर गएको देखिनु चिन्ताजनक छ । अन्तर्राष्ट्रिय श्रम संगठन (आइएओ) र युनिसेफले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनले चार वर्ष यता विश्वव्यापी रूपमा ८४ लाख बालबालिकाहरू श्रमका क्षेत्रमा आएको जनाएको छ । सोही प्रतिवेदनले कोभिड १९ को नकारात्मक प्रभावका कारण विश्वव्यापी रूपमा लाखौं बालबालिका जोखिम परिस्थितिमा परेको तर्फ विश्व समुदायलाई सचेत गराएको छ । यतिबेर नेपालमा कोभिड १९ को प्रभाव स्वरुप कति बालबालिका जोखिम परिस्थितिमा पुगेका छन् भन्ने तथ्यांक हाम्रो अगाडि छैन । यद्यपी विश्व परिवेशमा हाम्रा थुप्रै बालबालिका जोखिमता तर्फ धकेलिदै गएको सहज अनुमान लगाउन सकिन्छ ।

यसरी कोभिड १९ को प्रभाव बढदै जानेक्रममा हाम्रो मुलुकमा ठूलो संख्यामा बालबालिका बालश्रमको जोखिममा पर्नसक्ने अवस्थालाई ख्याल गरी हामी सबै चनाखो हुनु आवश्यक छ ।

यस परिस्थितिमा हामी नेपाल सरकारका तिनै तहहरू विशेषगरी स्थानीय सरकार र जिम्मेवार निकायहरूलाई नेपालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तर गरेका प्रतिवद्धताहरूलाई ध्यानमा राख्दै बालश्रम निवारण सम्बन्धी गुरुयोजन अनुरूप २०८५ सम्ममा बालश्रम मुक्त नेपाल निर्माणको दिशातर्फ अग्रसर भई योजनावद्ध तरिकाले कार्यक्रम अगाडि बढाउन हार्दिक अपिल गर्दछौं ।

कुमार भट्टराई
प्रवक्ता