मितिः २०७७ माघ २६ गते

बैतडी दोगडाकेदार ७ की १७ वर्षिया भागरथी भट्टको बलात्कारपछि गरिएको विभत्स हत्याको घटनाबाट हामी स्तब्ध भएका छौं । बालिका तथा किशोरीको बलात्कार पछि हत्या गरिने निन्दनीय र अपराधिक दुष्कर्मको पछिल्लो सिकार भागरथी भट्ट हुनु भएको छ । निर्मला पन्तलाई न्याय दिलाउन नसकिइरहेकै अवस्थामा एकपछि अर्का यस प्रकृतिका घटनाहरू दोहरिँदै जानु अत्यन्त दुखद र क्षोभपूर्ण छ ।

कोभिड–१९ सिर्जित लकडाउनको अवधिलाई समेत ध्यानमा राखेर हेर्दा विशेषगरी बालिका र किशोरीहरू यौनशोषणको अपराधबाट असुरक्षित बन्दै गैरहेको परिवेशमा हामीले देशमा बढ्दो दण्डहिनता जिम्मेवार रहेको पाएका छौं । तसर्थ यस घटनामा संलग्न कसैले पनि उन्मुक्ति नपाउने गरी यथाशिघ्र सत्य तथ्य पत्ता लगाउन र हदैसम्मको कानूनी कार्वाहीका लागि सम्बन्धित निकायसँग सिविन—नेपाल जोडदार माग गर्दछ ।

सबै प्रकारका यौन शोषणबाट बालिका र किशोरीहरूको संरक्षणको निम्ति परिवार, समुदाय, नागरिक समाज तथा राज्यका सम्पूर्ण सम्बन्धित निकायहरु जागरुक भई बालिकाहरूको अधिकार प्रत्याभूति गर्न सबैमा आह्वान गर्दछौं ।

कुमार भट्टराई
प्रवक्ता