सिविन नेपाल पोखरा, जि.आर.टी. इटाली र इन्टरभिटा इटालीको सहयोग तथा गोनेशा नेपाल र एम.एस.डि.ओ.हेम्जा कास्कीको आयोजनामा मंसिर ६, २०७१ मा बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ । स्वास्थ्य शिविरमा कास्की जिल्लाका हेम्जा गा.वि.स. र आसपासका गा.वि.स.का बालबालिकाहरुका साथै स्थानीय बासिन्दाहरु लाभान्वित भएका थिए ।

सिविन नेपाल पोखराले विगतका बर्षमा जस्तै यो बर्ष पनि बालबालिकाको स्वास्थ्यलाई मध्यनजर गर्दै यस बर्ष पनि स्वास्थ्य शिविर सञ्चालन गरेको हो । शिविर सञ्चालन हुनुपूर्व सञ्चालित औपचारिक कार्यक्रममा बोल्दै सिविन नेपाल पोखराका प्रमुख प्रेम सोङमेनले बालबालिकालाई स्वस्थ राख्न सकेमा मात्र उनीहरुको भविष्य उज्जवल हुने सम्भावना रहेको र बालबालिकाको उज्जवल भविष्य नै देशको उज्जवल भविष्य हुने धारणा राख्नुभयो । कार्यक्रममा उपस्थित चिकित्सक, स्वास्थ्य शिविरमा खट्ने स्वयंसेवक, आयोजक र स्वास्थ्य परीक्षणका लागि आएका बालबालिका र स्थानीहरुलाई स्वागत गर्दै उहाँले बालबालिकाको विकासमा सबैको प्रयास भएमा मात्र उनीहरुको समग्र विकासको परिकल्पना वास्तविकतामा परिणत गर्न सकिने बताउनुभयो ।

हेम्जा हस्पिटल एण्ड रिसर्च सेन्टर तथा मनिपाल शिक्षण अस्पतालले प्राविधिक सहयो गरेको उक्त शिविरको स्थानीय व्यवस्थापन बहुउद्देशीय सामाजिक अध्ययन संस्था र हेमजा युवा सूचना केन्द्रले गरेका थिए । शिविरमा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. श्रीकृष्ण श्रेष्ठले बच्चाको स्वास्थ्य परीक्षण गरेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । डा.अरुण कुवँर, डा. ज्योति भट्टराई कुवँर लगायत ८ जना चिकित्सकहरुले स्वास्थ्य परीक्षण गर्नुभएको थियो । उक्त शिविरमा ३१७ जनाले स्वास्थ्य परीक्षण गराएका थिए ।