विश्वव्यापी रूपमा फैलिएको कभिड १९ महामारीका कारण चालु बन्दाबन्दीका बीच समाज ठप्प भएको अवस्थामा समेत हाम्रा बालबालिका दिनहुँ समस्यामा परिहेका घटनाहरू प्रकाशमा आइरहेका छन् । यस क्रममा पश्चिम रुपन्देही जिल्ला देवदह नगरपालिका वडा नं ११ मा १३ वर्षीया बालिका अंगिरा पासीमाथि अर्को अमानवीय एवं बर्बर घटना भएको छ र उनले ज्यान गुमाउन पुगेकी छिन् । तथाकथित ठूलो जातको भनिएका युवाबाट बलात्कारमा परेकी दलित गरीब पिरवारकी अंगिरालाई न्याय दिने नाममा समाजका गन्यमान्य भनिएका र जनप्रतिनिधि समेत जम्मा भएर सजाय स्वरुप पीडित बालिकालाई पीडककै जिम्मा लगाउनु र लगत्तै बालिकाको हत्या हुनु हाम्रो समाजमा रहेको जातीय विभेदको नृसंश रूप हो । यहि जेठ ९ गते शुक्रबार र १० गते शनिबार गरी दुइ दिनमा विकसित घटनाक्रमबाट हुनपुगेको यस आततायी घटनाबाट हामी क्षुव्द भएका छौं र घटनाको घोर निन्दा गर्दछौं ।

नेपालको संविधान तथा प्रचलित कानुनहरूले जातीय विभेदको उन्मूलन गरेको भएता पनि समाजमा अहिले पनि जातीय विभेद कायम रहनु विडम्बना नै भएको छ । जातीय विभेदको अर्को ताण्डव नृत्य हामीले भर्खरै रुकुमको चौरजहारीमा देख्यौं । यस घटनाको सन्दर्भमा भागी वा मागी बालविवाहले समेत हाम्रा किशोरीहरू प्रभावित रहने क्रम जारी रहेको समेत जनाएको छ । तथाकथित तल्लो जातको केटा र माथिल्लो जात भनिएको किशीरी बीचको प्रेम सम्बन्धको रडाको आखिर प्रेमी युवा नवराज विक सहित टीकाराम सुनार र गणेश बुढामगरको हत्या अनि सन्दिप विकऽ लोकेन्द्र सुनार र गोविन्द शाही अहिलसम्म बेपत्ता रहेको अवस्थाबाट अगाडि बढिरहेको छ । समाजमा गहिरो गरी गाडिएर रहेको जातीय विभेदको विकृत सोंच एकातिर रुपन्देही र रुकुम जस्ता घटनामा दोषी छ भने अर्कोतिर कानुनी कार्बाही निष्पक्ष नहोला भन्ने अशंका छ । जातीय विभेद गर्नु सामाजिक र कानुनी अपराध हो भन्ने भाव समुदायमा जगाउनु पनि कहिल्यै दण्डहीनताको अवस्था आउन दिनु हुँदैन । जबसम्म राज्य पक्ष यस्ता जातीय विभेद विरुध्द प्रतिवध्दताका साथ प्रस्तुत हुँदैनऽ जातीयताको अधारमा खडा भएको पर्खाल भत्किने छैन । र हामी अंगीरा पासी जस्ता होनहार छोरीहरू गुमाउँदै जानेछौं र रुकुम घटना दोहोरिँदै जानेछ । हामी यी दुवै घटनाको सत्यतथ्य पत्ता लगाई दोषीहरू माथि प्रचलित कानुनका आधारमा सख्त कार्बाहीको माग गर्दछौं ।

कुमार भट्टराई
प्रवक्ता