मितिः२०७४।०४।३०

यतिबेर देश प्राकृतिक विपद्को चपेटामा परेको छ । विशेषतः तराई मधेशका अधिकांश जिल्लाहरुमा विगत केही दिनदेखि परेको अविरल बर्षाले हजारौं नेपालीहरु घरबारविहिन बनेका छन्, कैंयौंले ज्यान गुमाएका छन् र कैयौं घाइते अवस्थामा रहेका छन् । यसरी बाढीपहिरोबाट प्रभावित हुनेहरुमा बालबालिका, जेष्ठ नागरिक, गर्भवती तथा सुत्केरी महिलाहरु र अपांगतामा रहेकाहरु सबैभन्दा बढी रहेका छन् । यसक्रममा बालअधिकारको क्षेत्रमा कार्यरत संस्था सिविन नेपालले त्यस क्षेत्रका बालबालिकाको तत्काल राहत सहयोगकालागि विराटनगर, हेटौंडा, नेपालगंज र धनगढीमा सिविनदारा सञ्चालित बालहेल्पलाइन १०९८ मा रु. एकलाखका दरले  निकासा गरिसकेकोे जानकारी गराउँदछौं । यी क्षेत्रमा कुनै बालबालिका जोखिममा रहेको थाहाभएमा तत्काल बाल हेल्पलाइनको नम्बर १०९८ मा फोन गरेर जानकारी गराउन पनि सबै समक्ष विनम्र अनुरोध गर्दछौं ।

यस्तो प्राकृतिक विपद् पछिको अवस्थामा विभिन्न सरुवा रोगहरु उत्पन्न हुनसक्ने भएकाले यसको आवश्यक रोकथामकालागि स्वास्थ्य निकायको ध्यानाकृष्ठ गर्दर्छौं । साथै यस्ता प्राकृतिक विपत्ति पछिको समयमा सहयोग र उद्धारको नाममा बालबालिका बेचविखन, यौन तथा श्रम शोषणसँगै विभिन्न खाले जोखिममा पर्न सक्ने भएकाले यस तर्फ पनि सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछौं ।  

प्रभावितलाई थप राहत जुटाउनेमा सिविन नेपाल प्रतिवद्ध छ । यस विपद्मा ज्यान गुमाउने सम्पुर्ण बालबालिका र नेपाली दाजुभाइ दिदीबहिनीको चीर शान्तिको कामना गर्दछौं । साथै घाइते हुनुभएकाहरुको सिघ्र स्वास्थ्यलाभको कामना गर्दर्छौं । सँगै पिडितको राहतका लागि आ आफ्नो क्षेत्रबाट सक्दो योगदान दिन हामी सबै सामु अपिल गर्दछौं । 

कुमार भट्टराई

प्रवक्ता, सिविन नेपाल ।

 

Attachments:
FileDescriptionFile size
Download this file (CWIN Press Release_floods.pdf)बाढीपहिरो प्रभावित बालबालिकाको तत्काल राहतका लागि सिविनको सहयोग'बाढीपहिरो प्रभावित बालबालिकाको तत्काल राहतका लागि सिविनको सहयोग'600 kB