नेपाल सरकार, नागरिक समाजका संघ—संस्था र सदस्यहरुको निरन्तरको लगाव र नीतिगत एवम् कार्यक्रमिक प्रयासका कारण नेपालमा बालश्रमको अवस्था क्रमिक रुपमा सुधार हुंदै गएको छ । तर यति हुँदाहुँदै पनि बालबालिकाको अवस्थामा अपेक्षित उपलब्धी हासिल हुन सकेको देखिदैन । एक अध्ययन अनुसार नेपालमा अझ पनि १७ लाख बालबालिका श्रमका विभिन्न क्षेत्रमा संलग्न छन् भने श्रमको स्वरुपमा पनि स्तरोन्नती हुनसकेको छैन । बालश्रम अझ त्यसमा पनि जोखिमपूर्ण क्षेत्रमा बालबालिकाको प्रयोग एवम् संलग्नताले हामी सबैलाई दुःखीत तुल्याएको छ भने शिक्षाबाट बञ्चित हुनुपर्र्ने कारण हाम्रा लाखौं बालबालिकाको सिंगो भविष्य अन्योलपुर्ण बन्ने अवस्था छ । त्यसैगरी आजको प्रतिस्पर्धी विश्वबजारमा खरो उत्रनसक्ने  दक्ष र योग्य पुस्ता निर्माणमा समेत चुनौति देखिएको छ ।

यसै सन्दर्भमा भर्खरै आएको विनाशकारी भुकम्पका कारण यसबाट प्रभावित १४ जिल्लाका बालबालिकाको सुन्दर भविष्यमा थप एवम् जटिल प्रश्न चिन्ह श्रृजना भएको छ । यी क्षेत्रका बालबालिकाको भुकम्पका कारण श्रृजित विविध समस्यालाई समयमा नै सम्बोधन गर्न सकिएन भने उनीहरु श्रमका विभिन्न जोखिमपूर्ण क्षेत्रमा संलग्न हुदै गन्तब्यहीन भविष्य तर्फ उन्मुख हुने सम्भावना अत्यधिक रहेको छ । सिविन नेपाल नेपाल सरकार, सम्बन्धित निकाय तथा आम सरोकारवालाहरुलाई यसतर्फ विशेष ध्यान दिंदै निश्चित योजना र कार्यक्रमका साथ अगाडि बढ्न हार्दिक अपिल गर्दछ ।

साथै बालश्रम बिरुद्धको अन्तर्राष्ट्रिय दिवसको यस अवसरमा सिविन नेपालद्धारा सञ्चालित बाल हेल्पलाईन नेपाल—१०९८ (दश, नौ, आठ) द्वारा आज भुकम्प प्रभावित ६ वटा जिल्ला क्रमसः काठमाण्डौ उपत्यका, मोरङ्ग, मकवानपुर, कास्की, बाँके र कैलालीमा विशेष कार्यक्रमको आयोजना गरि बालश्रमका विरुद्द जनचेतना अभिबृद्धि गर्दै सरोकारवाला निकायहरुलाई त्यस तर्फ उचित कदम चाल्न अनुरोध गर्दैछ ।
अन्तमा, बालश्रमको वर्तमान अवस्था र भविष्यमा बढ्नसक्ने चुनौतिलाई सम्बोधन गर्न र विशेष गरी भुकम्प प्रभावित १४ जिल्लालाई केन्द्रमा राखी बालश्रमका विरुद्द नेपाल सरकारका बिभिन्न निकाय र आम सरोकारवालासँग सहकार्य गर्दै उनीहरुको उद्दार, राहत, संरक्षण र विकासका लागि सिविन नेपाल विगतका वर्षहरुमा जस्तै सबै प्रकारका प्रयासहरुलाई जारी राख्ने प्रतिबद्दता पनि व्यक्त गर्दछ ।
 

सुम्निमा तुलाधर
कार्यकारी संयोजक
मितिः २०७२÷०२÷२९