काठमाडौं, १० पुस – सुदूरपश्चिमको धनगढीमा आपतकालीन अवस्थामा रहेका बालबालिकाको उद्धार तथा व्यवस्थापनका लागि हेल्पलाइन स्थापना भएको छ ।

नेपाल बाल मजदुर सरोकार केन्द्र (सिविन) ले दूरसञ्चार प्राधिकरण र महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयसँगको सहकार्यमा बाल हेल्पलाइन स्थापना गरेको हो । हेल्पलाइन सेवाको बिहीबार उद्घाटन गर्दै महिला बालबालिका तथा समाजकल्याण मन्त्री निलम केसी खड्काले बालबालिकाको हितको लागि सरकार प्रतिवद्ध रहेको बताइन् । उनले बालबालिकाहरुलाई अधिकार र अवसरबाट विमुख बनाउन नहुनेमा जोड दिइन् ।

कार्यक्रममा सिविनकी कार्यकारी प्रमुख एवं बालअधिकारकर्मी सुम्निमा तुलाधरले भावी समाज र राष्ट्र कस्तो बनाउने भन्ने विषय आजका बालबालिकालाई कस्तो अवस्था र अधिकार दिइएको छ भन्ने कुराले निर्धारण गर्ने बताइन् । उनले भनिन्,‘ अहिले पनि हजारौ बालबालिका जोखिमयुक्त श्रम शोषणमा रहेका छन्, अधिकार र अवसरबाट विमुख छन् । तिनीहरु नै देशलाई बुझ्ने आधार हुन् ।’

उनले हेल्पलाइनले जोखिम,शोषण र अप्ठ्यारोमा रहेका बालबालिकालाई उद्धार गरी न्याय र अधिकार दिलाउन प्रयत्न गर्ने पनि बताइन् । त्यसैगरी केन्द्रीय बाल कल्याण समितिका अध्यक्ष डिल्लीराम गिरीले पनि बाल संरक्षण्का विषयमा बोलेका थिए ।
Source: www.chakrapath.com (25 Dec., 2014)