'बाल दासताविरुद्ध र अधिकारका पक्षमा' चलाएको सफल अभियानका लागि नोबेल शान्ति पुरस्कार दिने घोषणा भएको एक साता बित्नै लाग्दा पनि अधिकारकर्मी कैलाश सत्यार्थीलाई बधाई ज्ञापन गर्ने शुभेच्छुकको ताँती लागेकै छ । सोमबार बिहान काल्काजीस्थित 'बचपन बचाओ आन्दोलन' कार्यालयमा भेटिएका सत्यार्थीले भारतका विभिन्न राज्यबाट आएका अधिकारकर्मीसँग भेटघाट सुरु भएलगत्तै एउटा खबर आयो, 'कंग्रेस (आई) अध्यक्ष सोनिया गान्धीलाई भेट गर्न तत्काल जनपथ जानुपर्ने भयो ।'

'मैले पाएको पुरस्कार नेपाल र भारतले संयुक्त रूपमा पाएको हो,' छोरा भुवनले हाँकेको गाडीमा जनपथतर्फ अघि बढिरहेका बेला कान्तिपुरसँग कुराकानी गर्दै उनले भने, 'मैले भारतमा रहेको बाल दासता, दुव्र्यवहार र अन्यायको आवाज उठाएलगत्तै नेपाललाई आफ्नो

दोस्रो कर्मस्थल बनाउँदै आएको थिएँ । नोबेल पुरस्कारसम्मको सम्मानमा पुग्न नेपाल र दक्षिण एसियाली भावभूमिले काम गरेको छ । यसकारण यो भारतीय र नेपाली जनताले एकसाथ पाएको विशेष सम्मान हो ।'

इलेक्टि्रक इन्जिनियर ६० वषर्ीय सत्यार्थीले सन् ८० को दशकमा सुरु गरेको बाल दासताविरुद्ध अभियानले नेपाल, बंगलादेश, पाकिस्तानसम्म पनि गतिलो प्रभाव जमाइसकेको छ । 'यता बाल अधिकारका पक्षमा अभियान चलाउन थालेपछि नेपालमा पनि भारतमा जस्तै बाल मजदुर र अधिकारविहीन बालबच्चाको ठूलो संख्या छ भन्ने थाहा पाएको थिएँ । रगमार्ग फाउन्डेसनमार्फत नेपालका गलैंचा उद्योगहरूमा कार्यरत बाल मजदुर हटाउने अभियानमा जोडिएपछि नेपाली समाजसँग सामाजिक र नैतिक रूपमा जोडिएँ । नेपालका सामाजिक संस्थाको जागरण र कार्यकताको सदाशयतापूर्ण साथले पनि मलाई आजको स्थानमा ल्याएको हो,' उनले सुनाए ।

भारतका विभिन्न सर्कस, उद्योग, कम्पनी वा घरेलु कामदार हैसियतमा कार्यरत १२ हजारभन्दा बढी नेपाली बालबालिकाले सत्यार्थीको अभियानमा जोडिएर उद्धार तथा पुनः बसोबासको सहारा पाइसकेका छन् । सन् १९८० मा उनको संस्था 'बचपन बचाओ आन्दोलन' स्थापना भएयता यसले झन्डै ८४ हजार बालबच्चाको उद्धार र पुनः बसोबास गराइसकेको छ ।

भारतको उडिसा राज्यमा जन्मे/हुर्केका सत्यार्थीले डिसेम्बर १० मा नर्बेको ओस्लो गएर नोबेल पुरस्कार थापेपछि पहिलो सद्भाव भ्रमण गर्न नेपाल जाने योजना बनाएका छन् । 'म सुरुमा आफ्नो गाउँ उडिसा जानेछु, त्यसपछि डिसेम्बर तेस्रो सातामा नेपाल जानेछु । यो पुरस्कारका हकदार रहेका नेपाली जनतासामु कृतज्ञता जनाउनु मेरो पहिलो कर्तव्य हुनेछ,' उनले भने ।

नेपालीप्रति कृतज्ञ छु

नोबेल पुरस्कार पाएको सुन्नासाथ तपाईंको प्रतिक्रिया के रह्यो ?

अक्टोबर १० तारिक दिउँसो मलाई कसैले नोबेल शान्ति पुरस्कारबारे फोनमा केही जिज्ञासा राखेजस्तो लागेको थियो । सायद अरू कसैले पाएको यो पुरस्कारबारे मसँग प्रतिक्रिया मागिएको होला भन्ने लाग्यो । तत्कालै गुगलमा 'सर्च' गरें । फेरि एकैछिनबाट फोनमा बधाई आउन थालिहाल्यो, अनि मात्रै मैले नै यो सम्मान पाएको रहेछु भन्ने थाहा भयो ।

नोबेल पुरस्कार छनोट कमिटीले गरेको निर्णयमा भारत र पाकिस्तानका दुई अधिकारकर्मीको 'संयुक्त शान्ति प्रयास' लाई उल्लेख्य भनिएको छ । नोबेल कमिटीले जारी गरेको विवरणमा नोबेल शान्ति पुरस्कारमा हिन्दु तथा मुस्लिम प्रतिनिधिलाई छनोट गरिएको जनाइएको छ । यो चिनारीबारे तपाईंको टिप्पणी के छ ?

मसँगै संयुक्त पुरस्कार पाउने पाकिस्तानकी मलाला युसुफ्जाई एक साहसिक युवती हुन् र उनीसँग एकैसाथ पुरस्कृत हुन पाएकामा म उत्तिकै खुसी छु । तर यो मेरो कमजोरी वा तागत के हो, मलाई थाहा छैन- मलाई म आफू हिन्दु वा मुस्लिम के हुँ भन्ने भिन्नताभाव कहिल्यै भएन । अधिकार र उद्धारको कुरामा मैले के भारतीय, के नेपाली वा के पाकिस्तानी भन्ने ? यो त अलग अठोटको कुरा हो ।

मलालासँग कुनै साझा काम गर्ने योजना राख्नुभएको छ कि ?

हो, अब आउने दिनमा दक्षिण एसियाली बाल अधिकारका लागि हामीले मिलेर केही काम गर्न सक्छौं कि भन्ने सोचाइ बनाएका छौं । अब डिसेम्बर १० मा नर्बेमा पुरस्कार समारोहमा भेट भएपछि यसबारे थप खाका तय हुन सक्छ । 'शान्तिका लागि बालक, बालकका लागि शान्ति' अभियानमा हामी जुट्न सक्छौं । तर एउटा कुरा, मलाला अतिवादी प्रहारका कारण आफ्नो देश र्फकन सकिरहेकी छैनन् । यसबेला उनले आफ्नो देशभित्रको बाल अधिकार र चेतनाको 'मुभमेन्ट' अघि बढाउन केही कठिनाइ पनि हुन सक्छ भन्ने मलाई लाग्छ ।

पुरस्कारको पैसा केमा खर्च गर्नुहुन्छ ?

त्यस्तो निश्चित भइसकेको छैन । तर म जे अभियान र जुन प्रयोजनका पूर्णताका निम्ति यत्तिका वर्षदेखि लाग्दै आएको छु, यसैको क्रियाशीलता र प्रभावकारितामा पुरस्कार रकम खर्च हुनेछ । यसका निम्ति भारतमा रहेका बाल पञ्चायत र महापञ्चायतको रायसुझावसमेत लिनेछु ।

नेपालसँगको सम्पर्क र सान्निध्यताबारे के भन्न चाहनुहुन्छ ?

नेपाल-भारत भूगोल र राजनीतिमा जेजस्तो भिन्न स्वरूप भए पनि संस्कार, संस्कृति, धर्म र सामाजिक वस्तुस्थितिका आधारमा हामी एउटै शरीरको हिस्सा जस्तै हौं । हामीबीच 'दिल' र 'दिमाग' जस्तै एकाकार सम्बन्ध छ । २०४६ को जनआन्दोलनमा नेपाली दूतावास (बाराखम्बा) अगाडि लोकतन्त्रका पक्षमा धर्ना दिनेमध्ये म पनि थिएँ । म नेपाल र नेपालीको लोकतन्त्रका पक्षमा उभिएर प्रहरी थुनामा रहें । त्यो आफैंमा एउटा खुसीको क्षण थियो, किनभने त्यसबेला नेपालमा लोकतन्त्रको बहाली भयो । तर नेपालमा लोकतन्त्रको लडाइँ अझै संस्थागत हुन बाँकी छ, नेपालमा संविधानसँगै स्थायी शान्तिको आशा गर्ने शुभेच्छुकमा म पनि छु ।

लखनउको गोन्डामा रहेको एउटा सर्कस कम्पनीबाट नेपाली बालिकाहरूको उद्धार गर्ने क्रममा देखिएको भोक हडतालसम्मको तपाइको अडान अझै चर्चामा छ । कुन मनोबलले उद्धारमा जुट्नुभएको थियो ?

मनोबलभन्दा बढी यो मानवीयताको कुरा हो । ससाना नानीहरू मेसिनझैं सर्कसको मेसिनमा घुमिरहेका छन्, अनि तपाइर्ंको दृष्टि र बुझाइ भने बोलीबचनमा मात्रै अधिकार केन्दि्रत छ भने त्यो विरोधाभासलाई के भन्ने ? यसकारण ती बालिकाहरू नेपाली थिए वा भारतीय, मलाई ख्याल भएन । मलाई त्यहाँ फल्ने फूल्ने बेलाका ससाना नानीहरू मात्रै सर्कसको दासतामा रहेको थाहा थियो । सुरुमा १४ जनालाई छुटाउन म लागेको थिएँ, भोक हडतालसम्ममा गएँ । त्यसबला मलाई नेपाल, हेटौंडाबाट आएकी कमला भन्ने बहिनीले हडतालको ५ दिनमा जुस ख्वाएकी थिइन् । ती नेपाली चेलीको भनाइ थियो, 'तपाईलें अनशन तोड्नुभएन र तपाईंको ज्यान गयो भने कुनै नेपाली छोरी पनि यो दासताबाट उम्केर नेपाल फिर्न सक्ने छैनन् । यसकारण जुस पिउनुहोस् ।' त्यति भनेपछि मैले अरू केही नसोची अनशन तोडेको थिएँ । तर पछि अदालतले सर्कसमा रहेका सबै नानीहरूलाई रिहा गरेर न्याय दिलाएको थियो ।

नेपालमा जारी दासताविरुद्ध अभियान र मुक्ति आन्दोलनबारे कत्तिको जानकार हुनुहुन्छ ?

हो, नेपालमा बेस संस्था (ब्याकवार्ड सोसाइटी अफ नेपाल) मार्फत डिल्ली चौधरी र अन्य हितैषीले मुक्ति आन्दोलनका अभियानलाई अघि बढाएका छन् । त्यसमा पनि यो दासताविरुद्धको अभियानमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवादेखि अधिकारवादी पद्मरत्न तुलाधर, गौरी प्रधान, डिल्ली चौधरीहरूले गरेको समर्थन सहयोग उल्लेख्य छ । मेरो नोबेल पुरस्कार मनोनयन प्रक्रियामा समेत देउवाजीले दिएको साथमा म कृतज्ञ छु ।

नेपालमा कमैया, हलिया मुक्ति आन्दोलन सफल रहे पनि त्यसको व्यवस्थापन र पुनः बसोबास प्रभावकारी बन्न सकेको छैन नि ?

दासताविरुद्ध चेतना र अभियान हामीमाझ नरहेका बेला केही न केही काम पक्कै सुरु भएको छ । मुक्त कमैया, हलिया, बाल मजदुरीका विषयहरूले अहिले प्रशस्त स्थान पाएका छन् । तर यसको पुनर्बास वा सही व्यवस्थापन गर्ने मामलामा नेपालमा मात्रै होइन, भारतमा पनि व्यवस्थापकीय कमजोरी देखिन्छ । जागरण र चेतना नभएका बेला त्यस दिशामा अग्रसर हुनु पहिलो चरणको र अहम् सवाल थियो । अब त्यो चरणबाट अघि बढिसकेका बेलामा व्यवस्थापनका बारे सोच्नुपर्ने बेला आएको छ । यो यस्तो विषय हो जसमा दरिलो मन बचन कर्मका बलमा मात्रै अभियानले निरन्तरता पाउन सक्छ ।

तपाईं विभिन्न चरणमा बाल दासताविरुद्ध ग्लोबल मार्चमा पनि संलग्न देखिनुहुन्छ, फेसनजस्ता लाग्ने यस्ता अभियानले परिवर्तनका दिशामा के प्रभाव छाड्न सक्छन् भन्ने लाग्छ ?

होइन, दासता र अधिकारको अन्तर बुझाउन पनि जागरण जरुरी हुन्छ । कक्षाकोठामा पढेरभन्दा पनि स्वविवेक र चेतनाका भरमा पाउन सकिने यस्तो ज्ञानका निम्ति 'मुभमेन्ट' जरुरी हुन्छ । म सन् १९९६ मा कोलकतादेखि काठमाडौंसम्मको मार्चपासमा थिएँ, सन्देश थियो- बाल दासताविरुद्धको अभियान । त्यसपछि सन् १९९८ मा बाल मजदुरी र दुव्र्यवहारविरुद्ध ग्लोबल मार्चमा निस्किएको थिएँ । बाल दुव्र्यवहार -ट्राफिकिङ) विरुद्ध यात्रा २००७ मा गरेका थियौं, नेपालमा बाल शिक्षाका अभियानमा पनि सक्रिय रह्यौं । यसरी म नेपालका हरेक गाउँघर, जिल्ला र सहर घुमेको छु । नेपाली समाजसम्म पुगेर मैले बाल मजदुरीका विरुद्धमा अभियान चलाउन चाहें र, केही हदमा सफल पनि भएा । किनभने हाम्रो भाषा, खानपिन, संस्कार र संस्कृति मिल्दो थियो ।

तर, यत्तिका अभियानहरू जारी रहेकै बेला पनि मानव तस्करी र बाल दासताका क्रमहरू रोकिएका छैनन् । यसको कारण के हुन सक्छ ?

हो, यो क्रम हामीकहाँ मात्रै होइन, बाहिरका सम्पन्न र विकसित भनिएका समाजमा पनि उस्तै छ । दासताका स्वरूप र उपक्रम भिन्न बनेका होलान् तर रोकिएको भने छैन । एउटा कुरा के निश्चित छ भने स्थानीय बिचौलिया (एजेन्ट) र समन्वयीको साथसहयोग नभई यो 'नेटवर्किङ' त्यत्तिकै चल्न सम्भव छैन । अब नोबेल पुरस्कार पाएपछिको मेरो ध्याउन्न यो तस्करी संयन्त्र र बदलिँदो रणनीतिबारे पनि केन्द्रित हुनेछ ।

Source: www.ekantipur.com (October 14, 2014)